
नेपाल दूरसञ्चार प्राधिकरणका सञ्चालक समिति सदस्य गोकर्ण सिटौला र निर्देशक अर्जुन घिमिरेले मन्त्रिपरिषदको स्वीकृतिबेगर सरकारी टोलीको प्रतिनिधित्व गर्दै विदेश भ्रमण गरेको पाइएको छ ।
सिटौला बोर्डका पदाधिकारी हुन् भने घिमिरे प्राधिकरणको गुनासो सुन्ने अधिकारीका रूपमा कार्यरत छन् । उनी प्राधिकरणको प्रशासन तथा अनुमतिपत्र निर्देशनालयअन्तर्गतको उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख समेत हुन् ।
ती दुवै जनाले नेपाल सरकारको अनुमतिबेगर श्रीलंकाको दूरसञ्चार नियामक निकायका महानिर्देशक मधुशंक डिसानायके र सदस्य विमल राजासिंघेसँग नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिनिधित्व गर्दै भेटघाट तथा छलफल गरेको खुलेको हो ।
१२ जनवरी २०२४ (२०८० पुस २७ गते)का दिन नेपाल दूरसञ्चार प्राधिकरणका टोलीसँग भेटवार्ता भएको भनेर श्रीलंकाको दूरसञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमै जनाएको थियो । भेटवार्ताको तस्वीर समेत राखिएको थियो ।
हेर्नुहोस्, श्रीलंकाको दूरसञ्चार नियामक निकायले वेबसाइटमा राखेको भेटवार्ताको समाचार र तस्वीर :


अहिले त्यो समाचार र तस्वीर हटाउन लगाइएको छ ।
'प्राधिकरणका कर्मचारीहरूबीच बिदामा बसेका बेला सरकारी प्रतिनिधित्व गर्दै विदेश भ्रमण गरेको हल्ला चलेपछि सिटौला र घिमिरेले श्रीलंकाको दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट उक्त समाचार र फोटो हटाउन लगाएका छन्,' प्राधिकरणका एक कर्मचारीले लोकान्तरसँग भने, 'विदेश भ्रमणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति नदिए पनि उनीहरू भारत र श्रीलंका गएको देखिन्छ ।'
उक्त जानकारी पाए पछि त्यस विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सञ्चार मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको उनले खुलाए ।
'नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य गोकर्ण सिटौला र निर्देशक अर्जुन घिमिरे दुईजना हालै श्रीलंका भ्रमणमा प्राधिकरणको आधिकारिक स्वीकृतिविना नै निस्केको र निजहरूले त्यहाँको नियामक निकायका प्रमुखसँग प्राधिकरणको पदाधिकारीको रूपमा १२ जनवरी २०२४ मा भेटघाट गरेको समेत श्रीलंकाको नियामक निकायको वेबसाइटबाट थाहा लागेको छ,' अख्तियारमा गरिएको उजुरीमा उल्लेख छ ।
उनीहरूलाई हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
'यसरी आधिकारिक व्यक्तिहरू कार्यालयबाट आधिकारिक स्वीकृति नलिई आफूखुशी निजी संस्थाको लगानीमा विदेश भ्रमण गर्ने र व्यक्तिगत स्वार्थका लागि विदेशमा आधिकारिक व्यक्तिको रूपमा चिनाई, भेटघाट गरी पदीय मर्यादाविपरितको कार्य गरेकाले आवश्यक छानबिन गरी हदैसम्मको कारबाही गर्न अनुरोध छ,' उजुरीमा भनिएको छ ।
हेर्नुहोस्, अख्तियारमा परेको उजुरी :

यस विषयमा सञ्चार मन्त्रालयले पनि प्राधिकरणलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ ।
२०८० फागुन १ गते सञ्चार मन्त्रालयले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, 'यस मन्त्रालयलाई सम्बोधन गरी नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य र निर्देशकले प्राधिकरणको आधिकारिक स्वीकृतिविना विदेश भ्रमण गरेको सम्बन्धमा छानबिन र कारबाही गरिपाऊँ भनी दिएको निवेदन यसै पत्र साथ संलग्न छ। उक्त पत्रबाट व्यहोरा अवगत गरी सो सम्बन्धमा के कसो भएको हो, सत्यतथ्य व्यहोरासहित तहाँ कार्यालयको राय/प्रतिक्रिया सात दिनभित्र उपलब्ध गराउनुहुन आदेशानुसार अनुरोध छ ।'
हेर्नुहोस्, सञ्चार मन्त्रालयको पत्र :

तर, प्राधिकरणले सञ्चार मन्त्रालयलाई हालसम्म जवाफ उपलब्ध गराएको छैन । यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीसँग सम्पर्क हुन सकेन ।
प्रवक्ता सन्तोष पौडेलको मोबाइल अफ थियो । सहायक प्रवक्ता प्रदीप पौड्यालसँग पनि सम्पर्क हुन् सकेन ।
यता निर्देशक घिमिरेले भने निजी कामको सिलसिलामा श्रीलंका गएको बताए ।
'साथीको बुवा एक्सपायर भएर श्रीलंका गएको हो । मैले तीन दिन घर बिदा लिएको थिएँ । त्यहाँ गएको बेला प्राधिकरणका पदाधिकारीसँग पनि भेट भएको हो,' निर्देशक घिमिरेले लोकान्तरसँग भने ।
पुस २७ गते शुक्रवार पृथ्वी जयन्तीको सार्वजनिक बिदा र २८ गते शनिबारको बिदा हुने भएकाले उक्त बिदा समेत मिल्ने गरी पुस २६ गते बिहीबार र पुस २९ गते आइतबार दुई दिन घर बिदा लिएको उनले खुलाए ।
त्यसैगरी प्राधिकरणका बोर्ड सदस्य सिटौला पनि प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई जानकारी दिएर नै निजी कामका लागि भारत र श्रीलंका गएको बताउँछन् ।
'म कर्मचारी नभएर बोर्डको पदाधिकारी भएका कारण बिदा लिनुपर्दैन । तैपनि बीचमा बोर्डको बैठक बस्न सक्ने हुनाले निजी प्रयोजनका लागि केही दिन विदेश जाँदैछु भनेर प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनाललाई जानकारी गराएको थिएँ,' सिटौलाले लोकान्तरसँग भने ।
आफ्नो निजी खर्चमा निजी कामका लागि भारत र श्रीलंका गएको जिकिर उनले गरे ।
'दिल्लीमा ९ जनवरीमा मेरो ज्वाइँको अप्रेसन थियो । त्यहाँ १० दिन बसेको थिएँ । श्रीलंकामा पनि साथीहरू छन्, भेट्न आउनुपर्यो भनेपछि ११ जनवरीमा श्रीलंका पनि पुगेको हो,' सिटौलाले लोकान्तरसँग भने, 'त्यहाँ दुई दिनका लागि मात्र पर्सनल कामका लागि गएको हो ।'
व्यक्तिगत कामका लागि गएका बेला देश र जनताको हितमा श्रीलंकाको दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग इन्फर्मल भेट भएको दाबी उनले गरे ।
'व्यक्तिगत भ्रमणमा गएका बेला अन्य सरकारी निकायसँग भेट हुनु देशकै हितको कुरा हो । देश हितविपरीत भेटघाट तथा छलफल हुनु पो अक्षम्य अपराध हो,' सिटौलाले थपे, 'गएको बेला एकचोटी सरकारी निकायका मान्छेसँग पनि भेटिहाल्दा केही नोक्सान त हुँदैन । द्विपक्षीय कुरा गर्दा झन् नलेज बढ्छ । देशको एक्सपोजर बढ्छ ।'
नेपालमा विभिन्न ओहदामा बसेका उच्च तहका पदाधिकारीहरू विभिन्न निजी संस्था र व्यक्तिको स्वार्थमा उनीहरूकै लगानीमा विदेश भ्रमणमा जाने र सरकारी ओहोदाको दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ ।
सोही कारण पनि सिटौला र घिमिरेको भ्रमणमा समेत प्रश्न उठेको हो ।