
मानवअधिकार तथा शान्ति समाजले अधिकारकर्मी डा विष्णुमाया परियारलाई वर्ष २०८० को ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
मानवअधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान दिएकाले उनलाई पुरस्कार दिने निर्णय गरिएको समाजको केन्द्रीय कार्यसमितिका सभापति रामकृष्ण बरालले बताए ।
एक लाख १० हजार रुपैयाँ राशिको यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । यो वर्षको पुरस्कार डा परियारलाई प्रदान गर्ने निर्णय ३० गते सम्पन्न शान्ति समाजको पुरस्कार छनोट समितिले गरेको हो ।
साढे दुई दशकभन्दा बढी अधिकारको आन्दोलनमा योगदानका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा सम्मानित सामाजिक न्यायका लागि क्रियाशील अभियन्ता डा परियारले विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानमा अतिथि वक्ताको रुपमा मन्तव्य व्यक्त गर्दै आएकी छिन् ।
सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मिएकी डा परियारको जीवनी अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत पढाइ हुन्छ ।

यसैगरी उनको जीवन संघर्षको गाथा विश्व चर्चित एक प्रकाशन गृहद्वारा प्रकाशित पुस्तकमा समेत समावेश छ ।
अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल (एड्वान)का संस्थापक अध्यक्ष डा परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन् ।
यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डी लिट (डाक्टर अफ लेटरर्स)ले सम्मान गरेको थियो ।
हाल अमेरिकामा रहेकी डा परियारका दुईवटा कृति प्रकाशित छन् ।