प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले प्रस्तुत गरेकाे आगामी बजेटका सिद्धान्त र प्राथमिकता पूर्ण नभएको बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा भाग लिँदै पौडेलले सरकारले सदनमा प्रस्तुत गरेको आगामी बजेटका सिद्धान्त र प्राथमिकता केवल कर्मकाण्डी मात्रै भएको टिप्पणी गरे ।
सरकारले पुरानै ढर्राबाट बजेट ल्याउने तयारी गरेको र सबै क्षेत्रलाई गोलमटोल सम्बोधन गर्न खोजेको उनले आरोप लगाए ।
‘आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा गहिराइमा पुगेर समस्याको समाधान नखोज्ने पुरानै प्रवृत्ति दोहोरिएको भेटियो,’ उनले भने, ‘अहिलेको चुनौतीपूर्ण अवस्थामा नयाँ र आशा जगाउने सरकारको कुनै तयारी देखिएन ।’
सरकारी खर्च धान्न राजस्व बढाउने बाहेकका विषय सरकारको प्राथमिकतामा नदेखिएको भन्दै कांग्रेसका युवा नेता पौडेलले रोजगारी दिने घोषणा गर्ने मात्रै नभएर सिर्जना गर्ने पनि ठोस कार्यक्रम ल्याउन माग गरे ।
पौडेलले देशमा लगानीको वातावरण नभएकाले निजी क्षेत्रको मनोबल खस्केको बेलामा पुँजीगत खर्च गर्ने सरकारको क्षमतामै प्रश्न उठेको बताए ।
आन्तरिक ऋण बढेपनि उत्पादन र रोजगारी बढाउने हिसाबले परिचालन नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।