
आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडितसँग सरकारले आज पनि पुन: वार्ता गर्दै छ । बिहीबारको छलफल सकारात्मक भएको भन्दै आज पुन: वार्ता हुने अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरूसँग बिहीबार साँझ छलफल गरेको थियो ।
पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।
समितिले हिजै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरूले आजसम्मको समय मागेका थिए ।
द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराइको थियो । त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवाशूल्क नपाउने व्यवस्था कडाइका साथ लागु भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ ।
कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायत विषयमा पनि छलफल भएको जनाइएको छ । नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरूले उठाउँदै आएका छन् ।