०६ असार २०८३, शनिबार

काठमाडौंमा हप्ता दिनभित्रै १७ हजार ट्राफिक उल्लङ्घनका घटना

चैत २, २०८०
काठमाडौं
काठमाडौंमा हप्ता दिनभित्रै १७ हजार ट्राफिक उल्लङ्घनका घटना

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार चार सय ६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिए ।

'ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ । सवारी चलाउँदा कहिल्यै पनि प्रतिस्पर्धाको भावनाबाट चलाउनुहुँदैन । सडक अनुशासन पालना गरौं', उनले भने ।

उनले ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको बताए ।

सबैभन्दा बढी कारबाही तीव्रगतीमा सवारी साधन चलाउँदा भएको देखिन्छ । एक हप्तामा तीव्रगतीमा सवारी साधन चलाउने दुई हजार सात सय ५८ चालक कारबाहीमा परेका छन् ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लेन अनुशासन उल्लङ्घनमा सात सय ६६, मादक पदार्थ सेवन गरेका छ सय ४०, रेडलाइट नियम पालना नगरेका पाँच सय ८० र बढी भाडा लिएका नौ चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी काठमाडौं जिल्लामा मात्रै एक सय चार वटा सवारी दुर्घटना दर्ता भएका छन् ।

जसमा एकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । ती दुर्घटनामा साधारण घाइतेको सङ्ख्या भने एक सय चार छ ।

ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार सात सय ५९ जनाले सचेतना कक्षा लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्