काठमाडौं, २९ पुस — आमाले बच्चालाई जन्म दिएपछि आफ्नो सुखसुविधा भुलेर उसको लालनपालन गर्छिन् । तर त्यही सन्तान ठूलो भएपछि आमालाई हेला गर्न पुग्छन् ।
धेरै घरमा हुने यस्तो घटनाको भयावह रूप चीनमा देख्न पाइयो । चीनको ग्वाङ्शी प्रान्तमा एक परिवारका छोराबुहारीले आमालाई जनावर जस्तो व्यवहार गरे । छोरोले आमालाई पिँजडामा बन्द गरेर राख्यो ।
वर्षौंदेखि आफ्नी वृद्धा आमालाई कुपुत्रले श्रीमतीको लहलहैमा लागेर पिँजडामा थुनेको रहेछ । पिँजडामा न राम्ररी गोडा फैलाउन पाउँथिन् ती वृद्धाले, न त्यहाँ पर्याप्त उज्यालो नै थियो ।
सुत्नका लागि पनि जम्मा एउटा काठको बाकस थियो । ती वृद्धालाई पर्याप्त खाना पनि दिइँदैनथियो । पिँजडामै उनी सुकेर अस्थिपञ्जर भइसकेकी थिइन् ।
केही व्यक्तिले यो कुरा पत्ता लगाएर भिडियो खिँचेर सामाजिक सञ्जालमा राखेपछि स्थानीय प्रशासनले वृद्धाको उद्धार ग–यो ।
वृद्धाले आफूलाई छोराबुहारीले पिँजडामा थुनेको र ठीकसँग खान पनि नदिएको गुनासो गरिन् । ती असहाय वृद्धाले कसैसँग मद्दत माग्न पनि सकिनन् ।
प्रहरीले महिलालाई अस्पतालमा भर्ना गरायो अनि छोराबुहारीलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।