२३ जेठ २०८३, शनिबार
सहकारी ठगी प्रकरण

रविमाथि संसदीय छानबिनको माग अलपत्र, ११ दिनलाई स्थगित भयो संसद्

चैत ७, २०८०
काठमाडौं
रविमाथि संसदीय छानबिनको माग अलपत्र, ११ दिनलाई स्थगित भयो संसद्

सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग कम्तीमा ११ दिनका लागि अलपत्र परेको छ । प्रतिनिधिसभाको बैठक चैत्र १८ गतेसम्म स्थगित भएसँगै संसदीय छानबिन समिति गठन हुने नहुने विषय ११ दिनको लागि टरेको छ । 

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले आगामी बैठकमा संसदीय छानबिन समिति गठन नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो । सहकारी ठगीमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफबाट चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको हो । 

कांग्रेस सांसद ईश्वरी न्यौपानेले सहकारीको सदस्य नभएको व्यक्तिले ऋण लिएको तथ्य प्रधानमन्त्री प्रचण्डले नै संसद्मा स्वीकार गरिसकेको बताइन् । उनले संसदीय छानबिन समिति गठनबारे आगामी बैठकमा निर्णय नभए संसद चल्न नसक्ने उनले उल्लेख गरिन् । 

संसद्मा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त माथिको छलफल चलिरहेका कारण बैठक चल्न दिएपनि आगामी बैठकबाट अझ सशक्त ढंगले विरोध गर्ने एक सांसदले बताए । प्रि–बजेट छलफल बुधवार नै सकिएको छ । 

राज्यका निकायले अनुसन्धान गरिरहेको व्यक्ति मन्त्री बन्न नमिल्ने मान्यता यसअघिको प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा स्थापित गरिसकेको कांग्रेसले दाबी गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्