
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले हिजोदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । हिजोदेखि शुरू भएको वर्षा विभिन्न ठाउँमा आज पनि जारी छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार विशेषगरी कोशी, मधेश र बागमती प्रदेशमा वर्षा भएको थियो । काठमाडौं उपत्यकामा दिनभर वर्षा भएको भयो ।
काठमाडौंमा आज बिहानसम्म पनि वर्षा जारी छ । बिहान साढे ५ बजेसम्म जारी वर्षा ६ बजेपछि भने केही कम भएको छ । केही ठाउँमा छिटपुट वर्षा भइरहेको छ ।
आगामी दुई दिनसम्म वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । 'आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।'
मौसमविद् अधिकारीले आज कोशी र मधेश प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशको पूर्वी भू-भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
मधेशका पश्चिमी भू-भागका साथै बागमती प्रदेशका पूर्वी भू-भागहरूमा केही समयपछि नै वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।