
सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको टोली आज स्विट्जरल्यान्ड प्रस्थान गर्दैछ ।
अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को बैठकमा सहभागी हुन सभामुखसहितको स्विट्जरल्याण्ड जान लागेको संसद् सचिवालयले जनाएको छ ।
यही चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने आईपीयूको १४८औं सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जना त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरू आज साँझ ५ः४० बजे कतार एयरलाइन्सको जहाजबाट दोहाहुँदै जेनेभा पुग्नेछन् ।
भ्रमण टोलीमा घिमिरेसहित नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे सहभागी हुँदैछन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सांसद गंगा बेलबासे, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसद्को अन्तर्राष्ट्रिय शाखाका प्रदीप गुरागाईं र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि स्विट्जरल्यान्ड जाँदैछन् ।
टोली चैत १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
यसैबीच प्रतिनिधिसभाको बैठक आगामी चैत १८ गतेसम्मका लागि स्थगित भएको छ ।