२८ जेठ २०८३, बिहीबार

शैक्षिक क्यालेन्डर प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

चैत ९, २०८०
काठमाडौं
शैक्षिक क्यालेन्डर प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

चिकित्सा शिक्षा आयोगको १३ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको उनको भनाइ थियो । 

नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिए ।

'वार्षिक शैक्षिक क्यालेन्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय कार्य हो', उनले भने, 'शैक्षिक क्यालेन्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु ।'

प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उनले बताए । 

प्रधानमन्त्रीले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठन लगायतका क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको बताए ।

सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानूनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा उपयुक्त मार्ग पहिल्याउनुपर्नेमा जोड दिए ।

'चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो', प्रधानमन्त्री प्रचण्डले भने, 'यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्