०८ साउन २०८३, शुक्रबार

राष्ट्रिय भूमि आयोग विघटन गर्ने सरकारको निर्णय

चैत ९, २०८०
काठमाडौं
राष्ट्रिय भूमि आयोग विघटन गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ ।

भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

'आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग पुनर्गठन गर्न वर्तमान भूमि आयोग विघटनको निर्णय भएको हो', मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, 'सम्भवतः एक साताभित्र पुनः अर्को भूमि आयोग गठन हुन्छ ।'​

सधैंका लागि आयोग विघटन नगरिएको उनले स्पष्ट पारिन् । भूमिसम्बन्धी समस्या समाधान गर्न अब गठन हुने आयोगले प्रभावकारीरूपमा काम गर्ने उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई यही चैत ११ देखि १९ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न स्वीकृति दिएको छ ।

बैठकले आगामी वैशाख १७ देखि २३ गतेसम्म भुटानको थिम्पुमा आयोजना हुने इसिमोडका बोर्ड अफ गभर्नरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको उनले जानकारी दिइन् ।

राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा. सङ्गीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा शिवराज अधिकारी (पाल्पा) र डा अरनिकोकुमार पाँडे (लतिलपुर)लाई नियुक्त गरेको छ ।​

मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदरायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका निकायको समग्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न सहमति प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्