
आँखाको सामान्य एलर्जीको उपचार गर्न हस्पिटल जाँदा चिकित्सकले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ गठ्ठाघरकी सृष्टि केसीलाई गलत औषधि दिए । त्यसैकारण उनको आँखामा जलबिन्दु भयो । सृष्टिले १७ वर्षअघि सधैँका लागि आँखाको दृष्टि गुमाइन् । विस २०६३ सालमा आँखाको ज्योति गुम्दा सृष्टिले भर्खर एसएलसीे परीक्षा दिएकी थिइन् । त्यो बेला उनी १६ वर्षकी मात्र थिइन् । झर्झराउँदो उमेरमा दृष्टिविहीन हुनु सामान्य पीडा थिएन ।
त्यसपछि अधिकांशले सृष्टिको जिन्दगी नै सकिएको दृष्टिकोण बनाए । ती मध्ये कसैले भन्यो– अब यसले के गर्ली र ? पढ्न सक्दिन, केही गरी खान पनि सक्दिन, कमाउन सक्दिन, कहीँकतै जान सक्दिन । उनीप्रति एकदमै ‘लो एक्सपेक्टेसन’ राख्ने धेरै थिए ।
अर्कोतिर पीडाबीच पनि सृष्टिको दृष्टिकोण भने फरक हुँदै गयो । उनले जब आँखाको ज्योति गुमाइन् त्यसपछि जिन्दगीलाई अझ वास्तविक रूपमा देख्न र बुझ्न पाइन् । उनलाई अब जीवनमा केही गरेर देखाउनुपर्छ भन्ने मनदेखि नै लाग्न थाल्यो । किनकि समाजले उनीप्रति जुन व्याख्या गरिरहेको थियो, त्यसलाई बदल्नु थियो । ‘मेरो जीवनको व्याख्या भीडले होइन म आफैंले गर्ने हो भन्नेमा म दृढ भएँ । त्यसका लागि आफैँले आफैँलाई माया गर्न थालेँ । विश्वास गरेँ,’ उनी भन्छिन्, ‘त्यहीअनुसार आफ्नो जीवनमा खुड्किला चढ्दै परिवर्तन ल्याउनपर्छ भनेर अघि बढेँ । जीवनलाई परिवर्तन गर्नका लागि सबैभन्दा बलियो अस्त्र शिक्षा रहेको मैले ठानेँ । भविष्य बनाउन र करियर विकास गर्दै सशक्त जीवन जिउन पढाइ धेरै महत्वपूर्ण हुन्छ पनि ।’
यस्तै सोचाइका साथ सृष्टिले राम्रोसँग पढ्ने दृढ संकल्प गरिन् । उनले संकल्प त गरिन्, तर थुप्रै चुनौती पनि सँगसँगै आइरहेको महसुस पनि भयो । यात्रा अघि बढ्यो । विद्यालय तहको पढाइ उनले सिद्धार्थ विद्यापिठ माविबाट पूरा गरिन् । विद्यालय तहको पढाइमा औसत नै थिइन सृष्टि । आँखाको दृष्टि गुमेकै कारण उनलाई उच्च शिक्षा पढ्न धेरै कलेजले रिजेक्ट गरिरहेका थिए । उनीहरूको प्रश्न थियो– पढ्न सक्दिनन्, हामीले कसरी पढाउने ? यसबीच उनले डिल्लीबजारको कन्या मल्टिपल क्याम्पसमा भने भर्ना पाइन् । नेपाली साहित्य मूल विषय बनाएर आफ्नै पद्धतिमा कडा मेहेनत गरेर पढ्न थालिन् । शिक्षकहरूले उनलाई पूर्ण सहयोगसँगै ढाडस पनि दिँदै गए । ‘म चक्कामा सुनेर पढ्थे । आफैँले बनाएको काठको सामग्रीमा लेखेर पढ्ने गर्थे,’ यसबारे उनले भनिन् । त्यहीअनुसार पढ्दै जाँदा उनले प्रमाणपत्र तहमा ‘होल नेपाल टप’ गरेर राष्ट्रपतिबाट पुरस्कृत हुने मौका पाइन् ।

समाजशास्त्र विषय लिएर स्नातक तह पढेकी सृष्टिले प्रवीणता प्रमाणपत्र तहमा जस्तै त्यहाँ पनि ‘नेपाल टप’ गरिन् । अनि मास्टर डिग्री पढन उनी युरोप गइन् । त्यो पनि युरोपियन युनियनको सरकारी छात्रवृत्तिमा नाम निकालेर । उनले नर्वे, फ्रान्स, हंगेरी र बेलायत गरी चार देशबाट एन्थ्रोपोलोजी (मानवशास्त्र)मा डिस्टिङ्सनसहित मास्टर डिग्री उत्तीर्ण गरिन् । त्यसपछि उनले आफ्नै देश नेपाल फर्किएर केही गर्ने अठोट गरिन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने संस्था ब्लाइड रक्स खोलिन् । संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकरणको काम गर्दै आइरहेको छ । अहिले उनी मोटिभेसनल स्पिकरको रूपमा देश–विदेश जाने गर्छिन् । जहाँ उनले आफ्ना संघर्षका कथाहरू साट्दै अरुलाई उत्प्रेरणा दिने गरेकी छिन् ।
यससँगै आफूले जीवनमा आँटे गरेपछि असम्भव भन्ने कुरा केही रहेनछ भन्ने बुझेको सृष्टि बताउँछिन् । ‘यस सफलतापछि मैले आँटेपछि सम्भव हुने रहेछ भन्ने मैले बुँझे । त्यसका लागि निरन्तर प्रयास जरुरी हुने रहेछ । धैयतासँगै निरन्तरता पनि चाहिने रहेछ,’ दार्शनिक शैलीमा उनी भन्छिन् ।
आफूले जीवनमा सिकेको त्यही कुरा सृष्टिले अहिले अरूलाई बाँड्दै छिन् । आफ्नो सबल पक्ष हेरेर त्यसमा निखार ल्याउँदै जीवनमा परिवर्तन ल्याउन उनी अरुलाई सुझाव दिन्छिन् । ‘मसँग के छैन भन्दा पनि के छ र त्यसको प्रयोग कसरी गर्न सक्छु भन्ने सोच्छु पर्छ । आफ्ना सबल पक्ष हेरेर त्यसमा निखार ल्याउँदै जीवनमा परिवर्तन ल्याउन आवश्यक छ,’ आफ्ना फलोअर्सलाई उनी सुझाव दिन्छिन्, ‘हरेक दिन यसरी बाच्नुस् कि भोलिको दिन उठे पनि नउठे पनि आफूलाई चिनाउन नपरोस् ।’
समाजका आशंकालाई चिर्दै आफू सफलताको बाटोमा गएकोमा सृष्टि खुसी छिन् । ‘मप्रति समाजको धारणा अर्कै थियो । त्यसलाई चुनौतीको रूपमा लिँदै जीवनमा अघि बढेँ । आफैँ बन्दै, आफैँलाई बनाउदै अघि गइसकेपछि त्यो समाजले राखेको दृष्टिकोणलाई मैले गलत सावित गर्न सफल भए । या भनौं मैले आफूलाई सही सावित गर्न सफल भए,’ खुसीमिश्रित भावुकता प्रदर्शन गर्दै उनले भनिन्, ‘ ‘हिजो मलाई ठड्याइएको एउटा औँला आज जोडिएर नमस्कार बनेका छन् । हिजो यसले सक्छे र ? भनेर प्रश्न गर्ने समाज आज ए सक्ने रहिछे भन्न थालेको छ ।’ शारीरिक रूपले फरक हुँदैमा हतोत्साहित नहुन सृष्टि अरुलाई सुझाव दिन्छिन् । ‘दृष्टि पो गुमेको हो त, जीवन त गुमेको छैन नि ! दृष्टिसम्बन्धी अपाङ्गता छ त, सिंगो जीवन अपाङ्गता होइन नि !’, उनले थपिन् ।
अपांगता भएका व्यक्तिलाई अवसर दिने, सिर्जनशील बनाउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने वातावरण निर्माण गर्दै स्वावलम्बी बनाउने सृष्टिको ध्येय हो । उनी अहिले यस्ता व्यक्तिलाई स्वाभिमानी बन्न आह्वान गरिरहेकी छिन् । उनी सबै दृष्टीविहीनलाई अघि बढ्न सुझाव दिन्छिन् । राज्यले अपाङ्गता भएका व्यक्ति मैत्री योजना र कार्यक्रम ल्याएर उनीहरूलाई शिक्षा र रोजगारी प्रदान गर्नुपर्ने सृष्टिको भनाइ छ । ‘त्यस्ता कार्यक्रमलाई अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाले गर्व गर्नेछन्, समर्थन जनाउनेछन्,’ उनले भनिन् ।
३० वर्षीय सृष्टि व्यस्त जीवन बिताउन मन पराउँछिन् । ‘ममा अहिले उमंग, उत्साह र ऊर्जाले भरिपूर्ण दिनचर्या छ । नाच्छु, अभिनय गर्छु, कथा–कविता लेख्छु, फेसनमा रुचि राख्छु, सधैँ व्यस्त रहन्छु,’ उनी भन्छिन् ।
सृष्टिको जीवन त्यही गतिमा अघि पनि बढेको छ । उनको अहिले धेरै ठाउँमा खोजी भइरहेको हुन्छ । आफ्नो ब्लाइन्ड रक्स संस्थाका उनी अध्यक्ष हुन् । उनी मोटिभेसन स्पिकरको रूपमा आफ्ना कुरा राख्न काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि हिँडिरहन्छिन् ।
सृष्टिलाई अहिले देशका विभिन्न कलेज–स्कूलले विद्यार्थी भर्ना र परीक्षाको बेलामा मोटिभेसनल स्पिकरका रूपमा बोलाउने गरेका छन् । नेतृत्व क्षमता र क्षमता विकास तालिम दिन उनी हरेक दिनजस्तो सक्रिय हुने गर्छिन् । सृष्टि नृत्य र अभिनयमा पनि सक्रिय छिन् । उनी यी दुवै विषयमा पनि ‘टेनिङ’ दिने गर्छिन् । उनी उत्प्रेरणासम्बन्धी कार्यक्रमका लागि विदेशतिर पनि धेरैको खोजीमा परेकी छिन् । उनले अहिलेसम्म विश्वका २६ देशमा पुगेर पब्लिक स्पिकिङ तालिम दिइसकेकी छिन् । उनी नेपाली र अंग्रेजी दुवै भाषामा तालिम दिन्छिन् । भारतको एउटा संस्थाका पनि सृष्टि ट्रेनरको रूपमा काम गर्छिन् । ‘कति अनलाइनबाट त कति भारतमै गएर पनि काम गर्दै आएकी छु,’ उनले सुनाइन् ।
सृष्टिका आमा र दुई दाइ छन् । उनी घरकी एक्ली छोरी हुन् । उनले अहिलेसम्म विहे गरेकी छैनन् । मनले खोजेको र भावना मिल्ने युवक भए विहे गर्ने सोचमा छिन् उनी । अहिलेसम्म कसैसँग ‘रिलेसनसीप’मा आफू नरहेको सृष्टिले बताइन् । दृष्टिविहीन हुनका बाबजुद सृष्टिलाई देश–विदेश जाँदा कसैको सहारा चाहिँदैन । धेरैजसो ठाउँमा उनी एक्लै जाने गर्छिन् भने नयाँ ठाउँमा जाँदा आमालाई पनि घुमाउन लैजाने गर्छिन् ।