
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसद्सम्म चौतर्फी विरोध भैरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइरालाले बताए । 'तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,' कोइरालाले भने ।
काठमाडौंको मध्ये बानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौंबासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।
कार्यकर्ताहरूले पार्टीमा चाकडीप्रथा हाबी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएकोजस्ता गुनासाहरू राखेका थिए ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।