
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृषि सेड निर्माणमा हिनामिना गरेको आरोपमा डा यादवसहित ६ जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चक्रघट्टा ९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध भएको थियो ।
डा. यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराएका थिए ।
साथै उनले लिमिटेडले पेश गरेको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी/नगराइ सोही प्रतिवेदन स्वीकृत गरी श्री ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी गरेका आयोगको दाबी छ ।
आयोगले सोही बराबरको बिगो कायम गरी जरिवाना तथा कैद र बिगो असुल उपर गर्न मागदाबी गरेको छ ।
यस्तै आयोगले चक्रघट्टा गाउँपालिका ९ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर लोहार, केन्द्रका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ ।