
नेपाली कांग्रेस कोशी प्रदेशले इलाम २ मा हुने उपनिर्वाचनको लागि ७ आकांक्षीको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशबाट ७ जनाको नाम सिफारिस भएर आएको जानकारी दिए ।
‘इलाम २ को उम्मेदवारको लागि कोशी प्रदेशबाट ७ जना आकांक्षीको नाम सिफारिस भएको छ’, पौडेलले लोकान्तरसँग भने, ‘क्षेत्र, जिल्ला र प्रदेश हुँदै नाम केन्द्रमा आइपुगेको छ । अब संसदीय बोर्डले केही दिनमा यिनै नाममध्येबाट एक जना उम्मेदवारको टुंगो लगाउँछ ।’
पौडेलका अनुसार उम्मेदवारका लागि ५ जना पुरुष र २ महिलाको नाम सिफारिस भएको हो ।
जसमा अघिल्लोपटक सुवास नेम्वासँग भिडेर ११४ मतले पराजित भएका डम्मबरबहादुर खड्का सहितका नेता छन् । यसरी सिफारिस हुनेमा भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ छन् ।
यसैबीच कांग्रेसले इलाम २ मा पार्टीको अवस्था बुझ्नको लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई खटाएको छ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।