
गैरकानूनी रुपमा नेपाल बसिरहेका ५ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौंको सोह्र खुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार भिसा अवधि समाप्तपश्चात् भएका उनीहरू विभिन्न मितिमा गैरकानूनी तवरले नेपाल प्रवेश गरेका थिए।
गैरकानूनी ढङ्गले बसोबास गर्नाका साथै उनीहरू शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।
उनीहरूमध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीन जनालाई सोमवार पक्राउ गरिएको हो ।
आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए ।