
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
वैशाख १५ गते तय भएको उपनिर्वाचनमा सत्ता गठबनधनका दलहरु अहिलेसम्मको अवस्थामा एक्लाएक्कै लड्नेगरी अघि बढेका छन् । सत्ता गठबन्धनमा रहेको दल जसपाबाहेकका चार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिने घोषणा गरेका हुन् । जसपा भने अहिलेसम्म मौन छ ।
वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ १(१) मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । दुई उपनिर्वाचन क्षेत्रमध्ये दलहरुको ध्यान बढी इलाम–२ मै देखिएको छ । जसअनुसार एमालेले इलाम–२ मा दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।
त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।
त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो । तर, माओवादीले उम्मेदवारको टुंगो भने अर्को बैठकबाट लगाउने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
रास्वपाले पनि एक्लै उपचुनाव लड्ने नीतिअनुसार आवश्यक प्रक्रिया अघि बढाएको छ । जसअनुसार आन्तरिक प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेको छ । रास्वपाले यसअघि नै कसैसँग गठबन्धन नगर्ने घोषणा गरिसकेको छ ।
केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा चार मुख भएर जाँदा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गर्न थालिएको छ । उम्मेदवारी दिने दिन चैत २४ सम्ममा पनि यही अवस्था रहे एक्लाएक्लै चुनाव लड्ने परिस्थिति बन्नेछ ।
००००
सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिका मृतावस्थामा फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित नदीमा चैत ११ मा पौडी खेल्न गएका ९ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोकबहादुर मगरलाई नदीले बगाएको थियो ।
००००
नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि बुधबार मनमोहन अस्पतालमा भर्ना गरिएको हो ।
००००
सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानिय तहसँग समन्वय गर्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्र्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् । उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।
००००
नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बैठकले सङ्घीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत राख्ने निर्णय गरेको छ । कैलालीको टीकापुरमा बुधबार बसेको पार्टीका संस्थापकको बैठकले अहिले सङ्घ र प्रदेशमा जे जस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको बैठकपछि पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।
उनले भने, “अहिलेलाई जहाँजस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको छ, सत्ता सहकार्यका सवालमा पार्टीको ‘पोजिशन’ स्पष्ट भएमा पछि सङ्घ र प्रदेशमा एकै धारणा बनाएर जान्छौँ ।”
००००
चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट बुधवार अपराह्न पश्चिमी शहर छोनछिन पुगेका छन् ।
छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई छोनछिन नगरपालिकाका उपप्रमुख झाङ गुइजाई, छोनछिन नगरपालिकाको परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक झाऊ यी, छेन्दुस्तिथ महावाणिज्यदूत सुरेश राउतलगायतले स्वागत गरे ।
००००
पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । स्वार्थको द्वन्द्वको बाझिने गरी सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा असमझदारी जनाउँदै पार्टी परित्याग गरेको उनको भनाइ छ ।
००००
आपराधिक लाभ लिन नहुने कसूरमा नेकपा एमालेनिकट अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमति (रक्षा) बमलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौंको बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध दिइएको जाहेरी प्रहरीमा दर्ता नभएको दाबी गरेका छन् । उनले पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा पुगिसकेको र त्यहाँ आफ्नो नाम नरहेको बताए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार सहकारी ठगीमा आफ्नो संलग्नताबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले त्यहाँ आफ्नो नामबाहेक केही नभएको बताएका हुन् ।
००००
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले पोखरामा भएको सहकारी ठगीका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध ठाडो उजुरी आएको भएपनि कुनै तथ्य र प्रमाण नभेटिएको बताएका छन् ।
बुधवार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ठाडो उजुरीमा नाम रहेकाहरू कानूनी दायरामा पर्ने अवस्था नरहेको स्पष्ट पारे ।
००००
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् ।
गत सोमवारदेखि भारतको गोवाबाट सम्पर्कविहीन बनेकी आफ्नी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी मेयर हमालले जानकारी दिएका छन्। ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।
बुधबार नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो ।