१५ असार २०८३, सोमबार
ओभाउन नसकेका द्वन्द्वका घाउ

बेपत्ता परिवारको पीडा: न सास भेटिन्छ न लास, अझै मरेको छैन आस

चैत १५, २०८०
कास्की
बेपत्ता परिवारको पीडा: न सास भेटिन्छ न लास, अझै मरेको छैन आस
तस्वीरमा बायाँबाट क्रमश: विमलबहादुर, उत्तरकुमारी, छमकुमारी र पार्वती

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो । २२ वर्ष बित्यो, ऊ सबैबाट ओझेल परेको । परिवारलाई ऊ छ भन्ने आशा छ । नभएको प्रमाण छैन । सत्ताको बुट ऊमाथि बजारियो र, बेपत्ताको सूचीमा उसको नाम टाँसियो । 

बेपत्ता :  गणेश केसी 
बेपत्ता हुँदाको उमेर : १३ वर्ष 
बेपत्ता भएको स्थान : बलेवा, बाग्लुङ

सशस्त्र द्वन्द्वले अशान्त थियो देशको माहोल । विद्रोही पक्ष माओवादी संगठन विस्तारमा आक्रामक ढंगले लागेको थियो । वैशाखमा बाग्लुङको जनता माध्यमिक विद्यालयको प्रांगणमा माओवादीले संगठनको कार्यक्रम राख्यो । सोही कार्यक्रमबाट चार कक्षामा पढ्दै गरेका गणेश केसीलाई माओवादीले लिएर गयो । त्यसको ६ महिनापछि मंसिर १२ गते साविकको नारायणस्थान गाविसमा तत्कालीन शाही सेनाले छापा मार्दा गणेश फन्दामा परे । त्यसपछि उनको खबर परिवारलाई छैन । छोराको हाल बुझ्न वर्षौंसम्म खोजेर थाकेका छैनन्, बुवा विमलबहादुर । विभिन्न संघ–संस्थाका कार्यक्रममा जोडिन्छन्, हिँड्छन् । 

‘माओवादी बसेको ठाउँमा सेनाले छापा मारे । जो एक्सपर्ट थिए, उनीहरू भागिहाले । साढे १३ वर्षको बच्चा, मेरो छोरालाई के थाहा ? उसलाई पक्डिए,’ निराश हुँदै उनले भने ।

बेपत्ता भएका गणेश

विमल पोखराको विजयपुर ब्यारेकसम्म आए छोराको खोजतलास गर्दै । तर, केही पत्तो पाउन सकेनन् । ब्यारेकले जिल्ला गएर सम्पर्क राख्नुस् भन्ने उत्तर दियो । जिल्लामा कुरा गर्दा थाहा नभएको जवाफ पाए । साथमा हुन्थ्यो त नाबालक छोरा लक्का जवान हुने समय हो यो । छोरा साथमा हुने आशामा उनी अझै पनि भौँतारिरहेका छन् । 

‘पहिला अति नै जटिल अवस्था झेलियो । कोही मान्छे आउँदा केही खबर आयो कि भन्ने हुन्थ्यो । अहिले यत्रो वर्षसम्म पनि कतै लुकाएर राखि‘छन’ कि, कतिबेला पठाउँछन् कि जस्तो लाग्छ,’ उनले झिनो आशा व्यक्त गरे ।

मार्च २४ गते सत्य अधिकार दिवस मनाउँदै गर्दा उनले छोराबारे सत्य जान्ने आशा व्यक्त गरे । ‘सत्य उजागर हुनुपर्‍यो पहिला । मेरो छोरा छ भने जीवित देखाउनुपर्‍यो, बेपत्ता बनाएर मारेको अवस्था हो भने लास देखाउनुपर्‍यो,’ आक्रोशित हुँदै उनले भने, ‘राज्यले लगिसकेपछि नाबालक छोरालाई संरक्षण गर्ला भन्ने लागेको थियो, तर बेपत्ता बनायो ।’

आफ्नो परिवारका सदस्यको प्रतीक्षामा कुरेर बस्ने विमल एक्ला व्यक्ति होइनन् । एड्भोकेसी फोरमकी गण्डकी प्रमुख कुञ्जनी परियार प्यासीका अनुसार बेपत्ता आयोगमा ३२ सय ३३ उजुरी छन् भने सत्य निरुपण आयोगमा ६३ हजार ७१७ उजुरी परेका छन् । यी मध्ये कुनै पनि उजुरीको अहिलेसम्म छिनोफानो भएको छैन ।

उजुरीका कागज पल्टाउँदा संख्या हुन्छ । ती संख्याभित्र गहिरिँदा व्यक्ति भेटिन्छ । कसैको परिवार खोसिएको देखिन्छ । यिनै संख्याको खातमा गुनासोको कागज पल्टाउँदै गर्दा ५३ वर्षीय छमकुमारी बस्नेतको परिवार उजाडिएको पत्तो हुन्छ । एक–एक गरेर हेरेका यी पात्र हजारौं संख्यामा छन् । द्वन्द्व सकियो, तर कतिका घाउमा खाटा बस्न समेत सकेका छैनन् । 

२०५८ साल चैत २ गते घरमा आएर छमकुमारीका श्रीमानलाई सेनाले लगे । साविकको नरठाँटी वडा नं. १ बाग्लुङबाट उनको श्रीमान सहित ९ जनालाई सोधपुछका लागि भन्दै लगिएको थियो । शिक्षक समेत रहेका ढकबहादुर बस्नेतको घरमा कहिले माओवादी धम्क्याउन आउँथे, कहिले भान्छामा पेट भर्न । सेनालाई त्यही निहुँ भयो ।

२६ दिनसम्म आर्मी ब्यारेकमा राख्यो । दिनकै भेट्न जान्थिन् उनी । देख्ने/भेट्ने अनुमति भने सेनाले दिएन । उल्टै आफूलाई लछारपछार गरेको छमकुमारी सुनाउँछिन् । पाँच दिनको दिनमा लत्ताकपडा मगायो । १५ दिनको दिनमा एक्कासि उनका श्रीमानलाई सेनाले घरमा ल्याइदियो । हातमा हतकडी र शारीरिक चोटपटक थियो । ढकबहादुरकी आमा छोराको  ज्यान देखेर ढलिन् । छोराछोरीको रुवावासी थियो । श्रीमान्को हाल देख्न सकेकी थिइनन् छमकुमारीले पनि । 

‘तेरो श्रीमानको दोष छैन, खानबस्न दिएको माओवादी चिनाइदेऊ भन्थ्यो सेनाले,’ उनले सम्झिइन् । ल्याएको दुई घण्टामा फेरि फर्काएर लगे । माओवादीलाई खान बस्न दिएको आरोपमा पक्राउ परेका ढकबहादुरलाई विद्रोही पक्ष चिनाउन भनेर गाउँ डुलाउँथे । सोही क्रममा चैतकै ३० गते श्रीमान भेट्न ब्यारेक पुगिन् । एक जनाले उनको श्रीमानलाई अन्तै सारेको सुनाए ।

‘अन्त’, ‘अन्त’ भन्दै उनी पोखराको ब्यारेकमा आइन् । आर्मीले पुलिस, पुलिसले आर्मी देखाए । कसैले पर्वत लगेको सुनाए । पर्वतबाट पोखराको बाटो देखाए । खोजतलास गर्न हिँड्दा सेनाका क्याप्टेनले धम्की दिन्थे । 

‘माओवादी खोज्न आउनेलाई करेन्ट लगाएर सेतीमा फालदिन्छ’ उनले यस्तैयस्तै सुनेकी थिइन् । तर, रोकिनन् श्रीमान खोज्न । डराइडराइ पोखराको फूलबारी र विजयपुर ब्यारेक पुगिन् । खबर नपाई रित्तो हात फर्किनुपर्‍यो । बेखबर बनेको २२ वर्ष बित्यो । अझै पनि आश छ, श्रीमानको खबर मिल्छ । श्रीमानको साथ गुमाउनु पीडा बेग्लै छ । श्रीमानको खबर नपाएको पीडा अथाह छ । पीडाका भारमा पीडा थप्छ समाजले । एकल महिला भएपछि अपशब्द, आरोपका वचन भोग्नुपर्‍यो आफ्नै आफन्तबाट पनि । तर पनि उनले यी सबै विषयको डटेर सामना गरिन् । छोराछोरी हुर्काइन् । अझै संघर्षरत छिन् श्रीमानको खबर पाउन । 

‘तेरो बुढो मर्‍यो, क्रिया किन गर्दिनस् भनेर मेरो अगाडि मान्छे भन्न आए पनि मेरो मनले मान्दैन, विश्वास गर्दिनँ, श्रीमान छ, भोलि आउँछ जस्तो लाग्छ । सबै घटना दिमागमा ताजा छन् । सत्य उजागर हुनुपर्‍यो, राज्यले दिनुपर्‍यो,’ छमकुमारीले भनिन् । 

२०५५ पुस २९ गते । नवलपुर, प्रहरीको टोली आएर संगठनमा आबद्ध रहेका चारजना कार्यकर्तालाई पक्राउ गर्‍यो । त्यसैमध्येका दुई थिए, उत्तरकुमारी रानाभाटकी १८ वर्षीया छोरी र पार्वती सिग्देलका श्रीमान धर्मराज पराजुली । सञ्चारको माध्यम सहज नभएको समयमा गिरफ्तारीको खबर परिवारले हप्ता दिनपछि थाहा पायो । 

इलाका प्रहरी कार्यालयमा बुझ्न आइहालिन्, पार्वती । तर, प्रहरीले इन्कार गर्‍यो । जसको नेतृत्वमा घटना घट्यो, ती व्यक्ति प्रहरी प्रमुख भएर काजमा निस्किसकेका छन् । श्रीमानबारे जानकारी पाउन उनी निरन्तर लडिरहेकी छिन् । सञ्जालसँग जोडिएकी छिन्, सत्य पाउने अधिकार रहेको विचार राख्छिन् । श्रीमान बेपत्ता भएपछि प्रमाण जुटाउन उनी आफैँ हिँडेकी समेत हुन् । २०६१ सालमा श्रीमानको खोजी गर्दै उनी छापा मारेको घरसम्म पुगेकी थिइन् । अन्तिमपटक श्रीमानलाई कहाँसम्म लगियो ठाउँ भेटेकी छिन् । साक्षी भेटेकी उनलाई लाग्छ, सरकारले चाहे क्षण भरमा उनका श्रीमानबारे यथार्थ सार्वजनिक गर्न सक्छ । 

‘हाम्रो केसमा चाह्यो भने सरकारले दुई मिनेटमा सार्वजनिक गर्न सक्छ । गिरफ्तार गरेर लगेको छ, त्यहाँसम्म पुर्‍याएको छ, अनि के गर्‍यो त ? केही न केही रेकर्ड त होला नि’ आँखामा आँसु लिँदै पार्वतीले भनिन्, ‘हाम्रो जान्ने अधिकार हो, सत्य तथ्य थाहा पाउनुपर्‍यो, अहिलेसम्म पनि बेपत्ता भनेर राखेको छ ।’

सो समयमा चार महिनाकी गर्भवती थिइन्, पार्वती । बोल्दाबोल्दै गला अवरुद्ध हुन्छन् उनका । कतैबाट श्रीमान आइपुग्छन् कि आशा छ उनमा । श्रीमानको यादमा २५ वर्षपछि पनि गह भरिन्छन् । उत्तरकुमारीकी छोरी १८ वर्षकी थिइन्, साथीको घर जान्छु भनेर हिँडेकी । संगठनमा आबद्ध रहेकी उनलाई प्रहरीले छापा मार्दा समात्यो । पाँच दिनपछि थाहा पाएपछि इलाका प्रहरी कार्यालयमा गए । सबै गएर सोधे । तर, प्रहरीले इन्कार गर्‍यो । 

‘कति ठाउँमा धाउने हो, आउँछ कि, आउँछ कि भन्ने आशा छ । आयोगले चासै नदिएको हो,’ उत्तरकुमारी बताउँछिन् । 

न्यायका लागि लडिरहेकी यी आज पनि राज्यसँग लडिरहेकी छन् । नागरिकको रगतको होलीमा व्यवस्था परिवर्तन भयो । सत्तामा व्यक्ति फेरिएर आए । संक्रमणकालीन न्यायको विषयमा कहिलेकसो गठबन्धनमा चर्चा चल्छ । टीआरसी विधेयकमा सत्ता फेरबदल हुन्छ । 

बन्दुकको  धाकमा सत्ता पाउन हिँडेको माओवादी ‘ब्याटल’ हुँदै ब्यालेट पुग्यो । बेकसुर नागरिकको टाउकोमा आफ्नै कारण बन्दुकको नाल तेर्सिएको भुलेर न्याय दिलाउन भने माओवादी र राज्य चुकिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्