
राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानले लगातार दोस्रो जीत हाल पारेको हो ।
१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न परेको हो ।
दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेलेपछि हार टार्न सकेनन् । ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे ।
राजस्थानका लागि नान्द्रे बर्गर त युजभेन्द्र चहलले समान २-२ विकेट लिए भने आवेश खानले १ विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले रियान परागको विष्फोटक इनिङको मद्दतमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए । उनी बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् ।
दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए । आईपीएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् ।