२५ जेठ २०८३, सोमबार
संसद्‌मा परराष्ट्रमन्त्रीको सम्बोधन

भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएका छौं, लोकसभा चुनावअघि भ्रमण सम्भव भएनः श्रेष्ठ

चैत २१, २०८०
काठमाडौं
भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएका छौं, लोकसभा चुनावअघि भ्रमण सम्भव भएनः श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतसँगको सम्बन्धलाई सरकारले उच्च महत्व दिएको बताएका छन् । भारतसँग गम्भीर प्रकारले र हार्दिकताका साथ छलफल गर्न चाहेको उनले बताए । 

हालै सम्पन्न चीन भ्रमणबारे बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले भारतमा लोकसभा चुनावको तयारी भइरहेकोले त्यसअघि उच्चस्तरको भ्रमणको परिस्थिति नभएको बताए । ‘हाम्रो दुई छिमेकी सँगको सम्बन्ध प्राथमिकताको विषय भएको मैले संसद्‌मा यसअघि पनि बताएको छु । उत्तरी छिमेकी चीनजस्तै भारत हाम्रो अर्को महत्वपूर्ण छिमेकी हो, भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौं, महत्व दिन्छौ’ मन्त्री श्रेष्ठले भने । 

तीव्र विकासको पथमा अगाडि बढिरहेको भारतसँग आर्थिक साझेदारी बढाएर लाभ लिन सक्नु पर्ने मन्त्री श्रेष्ठले बताए । ‘हामीले छिमेकी मित्रराष्ट्र भारतसँग समझदारी गर्नुपर्नेछ । भारतमा लोकसभा चुनावको तयारी भइरहेको छ, चुनाव सम्पन्न हुने क्रममा छ । अहिले नै यही स्तरको भ्रमण गर्न निर्वाचन अगाडि उपयुक्त परिस्थिति नरहेको कुरा विदितै छ ।’ 

मन्त्री श्रेष्ठले भारतसँगको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ गर्दै कतिपय चासोका विषयमा कूटनीतिक तवरले छलफल गर्ने बताए । ‘भारतसँग गम्भीर प्रकारले, हार्दिकताका साथ छलफल गर्न चाहन्छौं । एकतिर परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने काम गर्नुछ । साथै नेपालको आर्थिक विकासलाई सहयोग पुग्ने गरी सम्बन्ध विस्तार गर्छौं’ उनले भने । 

मन्त्री श्रेष्ठले दु्ई छिमेकीबीचको सम्बन्धलाई दुवैले आन्तरिक घरेलु राजनीतिका मुद्दा नबनाएर खुला ढंगले छलफल गरेर कूटनीतिक माध्यमद्वारा समाधान गर्न सकिने बताए । 

त्यसक्रममा मन्त्री श्रेष्ठले चैत ११ देखि १९ गतेसम्म सम्पन्न चीन भ्रमणले दिपक्षीय सम्बन्धलाइ सुद्रिढ बनाउने काम गरेको बताए । ‘आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा चीनबाट कसरी लाभ लिन सक्छ भनेर छलफल गरेको छु । कोभिडका कारण बन्द भएका १४ वटा परम्परागत व्यापार नाका यथाशीघ्र खोल्न चीन तयार भएको छ’ मन्त्री श्रेष्ठले भने । 

चीनले नेपालसँगको कूटनीतिक महत्व दिदै आएको आफूले भेट गरेका नेताहरूले बताएको मन्त्री श्रेष्ठले बताए । ‘मेरो भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्ध थप गहिरो भएको, नेपाल र चीनबीच सद्भावनाले थप उचाइ उचाइ भएको ठानेको छु’ उनले भने ।  

salt training

कमेन्ट गर्नुहोस्