
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरूलाई निर्देशन दिएकी छिन् ।
पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई बुधवार सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीवार विश्वासको मत लिँदैछन् । हाल नाउपाका ५ जना सांसद शाह नेतृत्वको सरकारमा सामेल छन् ।
अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबीसमेत गरेकी छिन् ।
‘नाउपा, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिकसभा सञ्चालन लगायतका कार्यक्रमका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरेपनि प्रदेशसभाको महत्वपूर्ण निर्णयमा व्हीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मुख्यमन्त्री शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशन सहितको व्हीप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ ।

नाउपामा संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीचको विवादले गर्दा सांसदहरू पनि दुई भागमा बाँडिएका छन् । चौधरी सुदूरपश्चिममा नेपाली कांग्रेससँगको गठबन्धनको पक्षमा छन् ।
यता अध्यक्ष श्रेष्ठ भने नयाँ सत्ता समीकरणको पक्षधर छिन् । यसले गर्दा विवाद भइरहेको हो ।