ताइवानकी एक टेलिभिजन (टीभी) एंकरले शक्तिशाली भूकम्प गइरहेको समयमा पनि स्टुडियोमा रहेरै समाचार पढेर पेशाप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् ।
बुधवार भूकम्प गइरहेको अवस्थामासमेत उनले भित्तो समातेर टीभीमा सूचना दिइरहिन् । अहिले यो भिडियो विश्वभर भाइरल भइरहेको छ । धेरैले उनको प्रशंसा गरेका छन् ।
ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको हो । ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पमा कम्तीमा २६ भवन ध्वस्त भएका छन् । जसमध्ये १५ वटा हुआलियन काउन्टीमा छन् । सातवटा भवनमा मानिसहरू फसेको सीएनएनले जनाएको छ । ९१ हजार बढी घर बिजुलीविहीन छन् ।
यो समाचार तयार पार्दासम्म चार जनाको ज्यान गएको विवरण आएको बीबीसीले जनाएको छ । भूकम्पले निम्त्याएका क्षतिको यकिन विवरण आउन बाँकी छ ।