०३ असार २०८३, बुधबार

गरगहना लुटपाटका लागि दम्पतीको हत्या

चैत २१, २०८०
पर्वत
गरगहना लुटपाटका लागि दम्पतीको हत्या

पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । 

पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।
     
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताए । उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको पाइएको छ । सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । 
    
प्रनाउ भुसालका अनुसार मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ  । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको उनले बताए। “लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ”, उनले भने, “अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ भने परेका छैनन् ।” हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।
    
भुसालले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको र ‘म्यानुअल’तर्फ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । 

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए । जिसीका दुई छोरा दक्षिण कोरियामा छन् । जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् ।  उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
    

salt training

कमेन्ट गर्नुहोस्