
इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । इलामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले साढे १० बजेदेखि साढे तीन बजेसम्म दलहरूलाई समय तोकेरै उम्मेदवारी दर्ताको सूची प्रकाशित गरेको छ ।
आयोगको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई १२ बजे, एमालेलाई साढे १ बजे, नेपाली कांग्रेसलाई साढे २ बजेको समय तोकिएको छ ।
साढे १० बजे स्वतन्त्रका प्रदीप लिम्बू, ११ बजे स्वतन्त्रकै डाकप्रसाद गौतम र साढे ११ बजे नेमकिपाको लागि मनोनयन गर्ने समय छुट्याइएको छ ।
साढे १२ बजे मंगोल नेसनल अर्गनाइजेसन, १ बजे जसपा, ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी र साढे ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको लागि उम्मेदवारी मनोनयनको समय छुट्याइएको छ ।
२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।
नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ मा एमालेलाई सघाउने निर्णय गरेको छ ।
इलाम–२ मा नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधर डकेन्द्र लिम्बूले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।