
झापाको दमकमा भुटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
शरणार्थीको रेखदेखमा संलग्न शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर) र दमक नगरपालिकाको संयोजनमा आयोजना गरिएको फोटो प्रदर्शनी यही चैत २९ गतेसम्म चल्ने छ ।
यूएनएचसीआर नेपालका प्रवक्ता रोशन नेपालले शरणार्थीको इतिहास तथा मानव अधिकारप्रति नेपाल सरकार र शरणार्थी दातृ निकायले गर्ने कामलगायत उनीहरूको जीवन भोगाइका विषयमा जानकारी गराउने ध्येयले फोटो प्रदर्शनी आयोजना गरिएको बताए ।
नेपालमा बस्दै आएका भुटानी शरणार्थीका फोटो प्रदर्शनीमा राखिएका छन् ।
फोटो प्रदर्शनीले उनीहरूको आशा, चुनौती र नेपालमा मानवीय समुदायले गरेका प्रयासलाई प्रकाश पार्ने आयोजकको अपेक्षा छ ।
दमक नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित उक्त फोटो प्रदर्शनीको अवलोकन निःशुल्करुपमा गर्न पाइने छ ।
मोरङको पथरी शनिश्चरे र झापाको दमक–३ स्थित बेलडाँगीमा झन्डै एक लाख सात हजार बढी भुटानी शरणार्थी विभिन्न शिविरमा बस्दै आएका थिए ।
सन् २००७ देखि यूएनएचसीआर लगायत निकायले थालेको तेस्रो मुलुक पुनर्वास कार्यक्रममार्फत झन्डै एक लाख भुटानी शरणार्थीलाई अमेरिकालगायत मुलुकमा पुनर्वास गरिएको छ ।
अझै पनि शरणार्थी बस्तीमा ६ हजार पाँच सयको हाराहारीमा भुटानी शरणार्थी रहेका छन् ।