२५ असार २०८३, बिहीबार

सहकारी ठगी प्रकरण : उच्चस्तरीय छानबिन आयोग गठन गर्न विवेकशील साझाको माग

चैत २४, २०८०
काठमाडौं
सहकारी ठगी प्रकरण : उच्चस्तरीय छानबिन आयोग गठन गर्न विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरूले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरी देखाएको भन्दै छानबिन समितिको माग गरेको हो ।

'आरोपित मन्त्रीहरूले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानबिनलाई नै स्याबोटेज गरिरहेका छन्', पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सरोकारवाला र सहकारी पीडितहरूको भनाइलाई बेवास्ता नगर्न विवेकशील साझा पार्टी प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछ ।'

यस्तै साझाले बहालवाला मन्त्रीदेखि राजकीय पदमा आसीन वर्तमान तथा पूर्वपदाधिकारीहरूसमेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सहकारी ठगी प्रकरणमा संलग्नहरूलाई  छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न पार्टीले माग गरेको छ । 

यस्तै साझाले पीडितलाई राहत तथा परिपूरणको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

'सरकारमा संलग्न मन्त्रीहरू,पूर्व मन्त्रीहरू, विभिन्न दलका नेताहरूको मिलेमतो र सेटिङमा सर्वसाधारणको अरबौं रुपैयाँ अपचलन हुनु र पीडितको बिल्लीबाठ हुँदा पनि सरकारले प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति अचाक्ली ज्यादती भएको विवेकशील साझा पार्टीको ठहर छ', विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्