०९ साउन २०८३, शनिबार

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

चैत २४, २०८०
काठमाडौं
बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार बताएको छ । 

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् । ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ । 

रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताए । 

अधिकारीहरूले ओरेनबर्गमा युराल नदीमा खतरनाक जलस्तरको चेतावनी दिँदै सम्पूर्ण क्षेत्रमा स्थिति कठिन भएको बताएका छन् । पाँच लाख जनसङ्ख्या भएको सहरका मेयर सर्गेई सालमिनले बाढीग्रस्त क्षेत्रबाट निकाल्ने आदेशलाई अस्वीकार गर्ने मानिसलाई अधिकारीहरूले जबरजस्ती बाहिर निकाल्ने बताए ।  

उनले युराल नदीको जलस्तर आठ सय ५५ सेन्टिमिटरसम्म बढेको र अझ बढ्ने बताए । उनका अनुसार सहरका धेरै जिल्ला र वरपरका गाउँहरू प्रभावित हुने सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्