
इलाम क्षेत्र न –२ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
शनिवार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने सबै पुरुष रहेको पाइएको छ । उम्मेदवारी दिँदा महिला सहभागिता शून्य रहेको छ ।
बिहान ११ बजेदेखि साँझ पौने ६ बजेसम्ममा २० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन (एमएनओ)लगायत दलसँगै स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउनेमा (एमाले)का सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलनकुमार योङ्गहाङ्ग लिम्बू, एकीकृत समाजवादीका जीतबहादुर राई छन् ।
यस्तै राप्रपाकीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेमकिपाका श्याम नेपाली, एमएनओका मणिकुमार लिम्ब", राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार पनि छन् ।
यसैगरी स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेमि, डाकप्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ्ग, राज बस्यालले समेत मनोनयन दर्ता गराएका छन् ।
आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा–१ मा उपनिर्वाचन हुँदैछ । बझाङमा पनि शनिवार नै उम्मेदवारी दर्ताका काम सकिएको छ ।