
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम प्रतिनिधिसभा र बझाङ प्रदेशसभाका लागि कुल ३२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शनिबार उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको उनको भनाइ छ ।
इलाममा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेका छन् । त्यसैगरी बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ। जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन् ।
उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने, सोमबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने तथा मंगलबार उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको पौडेलको भनाइ छ ।
००००
फोहोर फाल्न अवरोध गर्ने क्रममा शनिबार विहान पक्राउ परेका १३ जना रिहा भएका छन् ।
बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको र साँझ छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
००००
विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरूले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरी देखाएको भन्दै छानबिन समितिको माग गरेको हो ।
००००
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश परिवर्तन गर्न हिँडेका नेताहरूले आफ्ना सन्तानलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन् ।
शनिबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको साधारणसभामा बोल्दै सांसद भण्डारीले नेताहरूले सत्तामा पुगेर आफ्ना छोराहरूलाई सुन्न तस्करी गर्न सिकाएको टिप्पणी गरे । नेताहरूले जनताको काम नगरेको उनले बताए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका छन् ।
विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पुनर्संरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्तिको आभास भएको बताए ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा घात अन्तर्घात नगरी एक्लै बहुमत ल्याउन सक्नेगरी अघि बढ्नुपर्ने बताएका छन् । भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले एक्लै चुनाव जितेर बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन् ।
००००
रास्वपा उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्यालले सहकारीमा लगानी गर्दा आफू ठगिएको बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा उनले सहकारीमा गरेको २३ लाख फसेको बताएका हुन् ।
‘त्यो सहकारीमा मैले पनि २३ लाख रुपैयाँ लगानी गरेको छु । म ठगिएको छु, मेरो त्यो २३ लाख उठाइदिए हुन्थ्यो’, उनले भने, ‘संसद्मा बोल्ने सांसदहरूले, लेख्ने मिडियाका साथीहरूले मेरो २३ लाख उठाइदिउन्, बरु उहाँहरूलाई म अलिअलि पैसा दिन्थें ।’