
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन् ।
घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी थिए ।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।
उपाध्यक्षको निर्वाचन बुधवार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरिन् । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिइन् ।
उनले राष्ट्रिय सभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।
यस्तै, कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएकी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताइन् ।
आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उनले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिइन् ।
उनले जनताको मन छुने खालका ऐन, कानून बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथी भाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिन् ।