
नेपाली कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले सहकारीको पैसा अपचलन गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने बताएकी छिन् । लामिछाने गृहमन्त्री बनेपछि अनुसन्धान रोकिएकोमा उनले आपत्ति जनाइन् ।
मंगलवार प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक थिङले गोरखा मिडियाका सञ्चालक र एमडी रहेका लामिछानेमाथि सहकारी ठगीमा दण्ड सजाय हुने कि नहुने भनेर प्रश्न गरेकी हुन् ।
‘गोरखा मिडिया कम्पनीले सहकारीबाट अर्बौं लिँदा सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछाने हुनुहुन्थ्यो । उहाँलाई सजाय र दण्ड हुन्छ कि हँुदैन भन्ने प्रश्न गर्न चाहन्छु,’ थिङले भनिन्, ‘रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भए अनुसन्धान हुन्थ्यो होला, कानून लाग्थ्यो होला । लामिछाने भएकोले अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो ?’
कांग्रेस सचेतकले यस्तो प्रश्न गरिरहदाँ संसद्मा उपस्थित लामिछानेले टाउको हल्लाएर बसेका थिए ।
उनले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेस संसदीय दलको निर्णय संसदमा जानकारी गराइन् । कांग्रेस सांसद बोलेलगत्तै सभामुख देवराज घिमिरेले सत्तापक्षलाई बोल्न दिएपछि संसद्मा होहल्ला भएको थियो । सत्ता र प्रतिपक्षको होहल्लाका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।