
नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेलाई दोषी देखाउने प्रहरीले तयारी गरे पनि सरकारको समीकरण फेरिएपछि रोकिएको दाबी गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रहरीले रविलाई दोषी किटान गर्न खोजे पनि सरकार परिवर्तन भएर रवि गृहमन्त्री भएपछि रोकिएको दाबी गरेका हुन् ।
‘सहकारी ठगी प्रकरणमा काठमाडौंबाट सीआईबीले तत्कालीन प्रमुखको नेतृत्वमा प्रदीप क्षेत्री र रवि घिमिरे दुई जना प्रहरीलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले अहिलेको गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो’, उनले भने, ‘समीकरण परिवर्तन भएपछि यो रिपोर्ट परिवर्तन गर्ने काममा लाग्यो भन्ने हामीलाई आभाष भयो । त्यसैले गृहमन्त्री जसको बारेमा छानबिन हुँदै थियो । त्यसै संस्थामा प्रमुख भएर आइसकेपछि छानबिन गर्ने प्रक्रिया रोकियो र सहकारी पीडितहरू झन् पीडित हुने अवस्था गए भन्ने आशंका उत्पन्न भयो ।’
सहकारी विभागमा रवि लामिछानेको नाम लिएर सहकारी ठगीबारे प्रहरीमा उजुरी पुगेको उनले बताए ।
प्रश्न उठेपछि गृहमन्त्रीले राज्य व्यवस्था समितिमा आएर गृहमन्त्रीले छानबिन गर्छौं भने पनि नभएको उनले बताए । अनुसन्धानमा प्रहरीले पैसा अपचलनमा अनुसन्धान शुरु गरे पनि सत्ता समीकरण परिवर्तन भएको उनले बताए ।
‘प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुभयो । तर प्रधानमन्त्रीका रुपमा होइन गठबन्धनका प्रमुखको रुपमा जवाफ दिनुभयो । गठबन्धन भत्किन्छ भनेर बचाउन जवाफ दिनुभयो’, उनले भने, ‘दोषीलाई उम्काउन मिल्दैन भनेर हामीले छानबिन आयोग, यसले दूधको दूध पानीको पानी छुट्याइयोस् भन्यौं । समिति दोषी भए प्रमाणित निर्दोष भए पनि प्रमाणतिर गरोस् भन्यौं । एक महिनादेखि माग गर्दै आएका छौं । तर पूरा भएन । कोही निर्दोष छन् भने समिति गठनमा किन आपत्ति ?’
काठमाडौं, बुटवल, भैरहवा, चितवनका सहकारीबाट अराबौं गोर्खा मिडियामा लगानी हुँदा रवि पनि त्यस मिडियाको प्रमुख हिस्सा भएको पनि उनले बताए ।