२२ जेठ २०८३, शुक्रबार

बलम्बुस्थित सशस्त्रको स्टोरमा आगलागी घटनाः छानबिन गर्न गठित आन्तरिक समितिले शुरू गर्‍यो काम

चैत २८, २०८०
काठमाडौं
बलम्बुस्थित सशस्त्रको स्टोरमा आगलागी घटनाः छानबिन गर्न गठित आन्तरिक समितिले शुरू गर्‍यो काम
आगलागीको तस्वीर

यही चैत्र २६ गते सोमवार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम शुरू गरेको छ ।

आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सो समितिले काम थालेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  

‘मंगलवार बिहानैदेखि घटनास्थललाई सिल गरेको छ भने सुरक्षाको लागि नयाँ टोली राखिएको छ,’ उनले भने । 

साथै आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्यसमेत तीव्ररुपमा अघि बढाइएको प्रवक्ता थापाले जानकारी दिए ।

‘प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याएर सिल गरी सुरक्षित स्थानमा राखिएको छ । समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेखको अध्ययन गरी के–कति सामान रहको र कति क्षति भएको भन्ने विवरणसमेत संकलन गरिरहेको छ,’ उनले भने ।

यस्तै भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई समेत भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि मुख्यालय झिकाइएको प्रवक्ता थापाको भनाइ छ ।

सो स्टोरको सुरक्षार्थ राखिएको सीसी क्यामेराको फुटेजसमेत समितिले अध्ययन गरिरहेको बताइएको छ । सो फुटेजमा भवनको बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्डभित्र नै ठूलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको छ । सो आगलागीबाट फ्रि–स्केलका सामान, विपद् उद्धारका सामानसमेत जलेर नष्ट भएका छन् ।

‘सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेकोमा केही वर्षअघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो,’ प्रवक्ता थापाले भने, ‘केही फ्रि–स्केलका सामान भण्डारण गरिएको र त्यसको पूर्ण प्रक्रिया समाप्त नभएकोले मातहत कार्यालयमा पठाउने तयारीको अवस्थामा अचानक आगलागी भएकोले कर्मचारीको लागि वितरण गर्ने सामान जलेर नष्ट भएका छन् ।’
 

salt training

कमेन्ट गर्नुहोस्