
काठमाडौं, २७ असोज — राम रहीमकी कथित छोरी हनीप्रीत प्रहरी हिरासतमा छिन् र उनका बारेमा दिनदिनै नयाँ नयाँ खुलासा भइरहेका छन् ।

हनीप्रीतलाई पढाएकी शिक्षिका सुनिता मदानका अनुसार, उनी पढाइमा अब्बल थिइनन् । परीक्षामा उनी बल्लबल्ल पास हुन्थिन् । तर नाच्न गाउन उनलाई खुबै मन लाग्थ्यो ।
स्कूलमा हुँदा हनीप्रीतको नाम प्रियंका थियो । स्कूलका मानिसलाई उनले कहिले नाम परिवर्तन गरिन् थाहै छैन । राम रहीमको चर्चा चुलिएपछि बल्ल उनीहरूले प्रियंका नै पो हनीप्रीत रहेछन् भन्ने थाहा पाए ।
हनीप्रीतका पिता रामानन्द तनेजाले आफ्नो सबै सम्पत्ति डेरा सच्चा सौदालाई दान दिएर त्यहाँ आफ्नो पसल खोलेका थिए ।
सन् १९९९ मा हनीप्रीत र विश्वास गुप्ताको सत्संगमा बिहे भएको थियो । त्यसपछि राम रहीमले हनीप्रीतलाई आफ्नी तेस्री छोरी घोषणा गरे ।
हनीप्रीतले राम रहीमको प्रोडक्सनमा बनेका फिल्महरूमा अभिनय तथा निर्देशन गरिसकेकी छन् । उनी बाबाको छायाँजस्तो गरी बस्थिन् भनिन्छ ।
हनीप्रीतका पूर्वपतिले हनीप्रीत र राम रहीमका बीच नाजायज सम्बन्ध भएको आरोप लगाउँदै आफूले उनीहरूलाई आपत्तिजनक अवस्थामा भेटेको बताए ।
एजेन्सी