काठमाडौं, २८ असोज– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीहरू राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले शुक्रवार मन्त्रिपरिषद विस्तार गरेपछि सो सम्बन्धमा राय बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगका पदाधिकारीलाई बोलाएकी हुन् ।
राष्ट्रपति भण्डारीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गर्न हुन्छ या हुँदैन भन्ने विषयमा आयोगका पदाधिकारीको राय बुझ्नेछिन् ।
प्रधानमन्त्री देउवाले शुक्रवार कमल थापा नेतृत्वको राप्रपाबाट अध्यक्ष थापासहित जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
यस्तै राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई नियुक्त गरिएको जनाइएको छ ।
मन्त्री नियुक्त गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । तर राष्ट्रपति कार्यालयले भने मन्त्रिपरिषद विस्तारको उपयुक्तताबारे कानूनी राय बुझेर मात्रै शपथ ग्रहण गर्ने कार्यक्रम राख्ने तयारी गरेको बुझिएको छ ।