
नेकपा एमालेले गत २१ फागुनमा फेरिएको सत्ता समीकरणपछि सरकार कामलाई कमजोर बनाउने र विरोध नगर्न अपिल गरेको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले समसामयिक प्रस्ताव प्रस्तुत सर्वसम्मतीले पारित गर्दै फेरिएको पाँच दलीय समीकरणको सरकारका काम र यसको विरोध नगर्न सत्तारुढ दललाई आग्रह गरेको हो ।
‘फागुन २१ गते नयाँ समीकरण बनेकोमा यो बैठक प्रसन्नता व्यक्त गर्दछ । यसलाई सफल, परिणाममुखी दिगो बनोस्, पाँच दलको साझा संकल्प छ । यसको तालिकावद्ध नीति, कार्यक्रम र सहकार्यलाई कमजोर बनाउने काम नगर्न र राष्ट्रियता र लोकतन्त्रलाई जोखिममा पार्ने काम नगर्न सत्तारुढ दललाई आग्रह गर्दछौं’ एमालेले भनेको छ ।
समाजमा भ्रष्टाचारले नैरश्यता बढाएको भन्दै एमालेले युवाको पलायन रोक्न, व्यवसायीमा आत्मविश्वास जागृत गर्न आग्रह गर्दै विशेष योजना ल्याउन माग गरेको छ ।
भ्रष्ट दण्डित नहुँदा समाजमा प्रदूषण बढेको भन्दै एमालेले भ्रष्टाचारविरुद्ध जेहाद छेड्न सरकारसँग माग गरेको छ ।
विभाजन घेराबन्दीलाई चिर्दै, राष्ट्रिय राजनीतिको संवाहक र प्रमुख पार्टीको रुपमा एमाले खडा भएको जनाएको छ । असहज अवस्थामा यस विन्दुसम्म ल्याउन अध्यक्ष केपी शर्मा ओलीको महत्त्वपूर्ण भूमिका रहेको एमालेले जनाएको छ ।
महंगी र मूल्यवृद्धि नियन्त्रण गर्न, सहकारी ठगीको निष्पक्ष छानबिन गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।