
नेकपा स्थापनाको ७५ औं दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई विशेष महत्त्व दिइएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रमका उद्घोषक एमाले महासचिव शंकर पोखरेलले देउवालाई ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका जेल जीवनका अनन्य मित्र’ सम्बोधन गर्दै मञ्चमा बोलाएका थिए ।
संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस सभापति देउवालाई शुरूमै मन्तव्य राख्न दिइएको थियो ।
देउवाले सम्बोधन गरेपछि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।
पछिल्लो समय कांग्रेसका नेताहरूले राजनीतिक स्थायित्वका लागि एमालेसँग सहकार्य गर्नुपर्ने प्रस्ताव गरिरहेका छन् ।
सम्बोधनका क्रममा देउवाले संसद्मा प्रतिपक्षले उठाइरहेको विषयलाई गम्भीरताका साथ लिन आग्रह गरे ।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग कांग्रेसले संसद्मा गरिरहेको छ ।
संसदीय छानबिनको मागलाई गम्भीरता साथ लिन उनले एमाले लगायतका दललाई आग्रह गरे ।
ओलीले पनि देउवालाई ‘मेरा अत्यन्तै पुराना मित्र’ भनेर देउवालाई सम्बोधन गरे ।