२७ असार २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

बैशाख ११, २०८१
धनुषा
मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आज बिहान आफैंले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर यादव गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र उनको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ ।​

धनुषाधाम नगरपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई–न्युज ब्यूरोका कार्यकारी सम्पादक थिए ।

कमेन्ट गर्नुहोस्