
राजनीतिक दलका नेता र जानकारहरूले लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने जोड दिएका छन्।
लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए।
त्यस अवसरमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण व्यक्त गरे। उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे।
नेता पौडेलले भने, ‘जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अवलम्बन भने हुन सकेको छैन।’
त्यस्तै कार्यक्रममा उपस्थित रहेका प्राध्यापक डा पिताम्बर भण्डारीले लोकतान्त्रिक प्रणाली उच्चतम शासन व्यवस्था भएकाले प्रणालीमा नीति र नेतृत्व नैतिकताको कसीमा रहन आवश्यकता रहेको बताए। उनले भने, ‘नेपालमा लोकतन्त्रलाई सुदृढ तुल्याउने हो भने दलभित्रको सक्रमण अन्त्य हुनुपर्छ।’
समाजका अगुवाकारूपमा रहेका दलका नेता तथा कार्यकर्ता लोकतान्त्रिक मूल्य मान्यताको परिधिभित्र राख्न पर्नेमा जोड दिँदै राजनीतिमा विकृति रहेसम्म लोकतन्त्रका लागि सधैं चुनौती खडा हुने विचार प्रकट गरे।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका सचेतक सुनिता बरालले नेताहरूका जीवनशैली, व्यवहार र कामकारबाहीका आधारमा लोकतान्त्रिक अभ्यास मापन हुने बताइन्।
उनले भनिन्, ‘सेवाप्रवाहमा नागरिकले लोकतन्त्रको अनुभूति नपाउँदा राजनीतिक नेतृत्वप्रति विभिन्न कोणबाट टीकाटिप्पणी भएको हो।’
देशभित्रका सम्भावनालाई बिर्सिएर विदेश पलायनलाई प्रतिष्ठानको विषय बनाउन नहुने धारणा राख्दै नेतृ बरालले सरकार र राजनीतिक नेतृत्वले पनि प्रतिबद्धता जनाएका विषय कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको बताइन्।
उनले उच्च शिक्षा, दक्षता अभिवृद्धि र आर्थिक आयआर्जनका लागि विदेश गए पनि समाज र देशको प्रगति र उन्नतिका लागि स्वदेशमै पसिना बगाउनु पर्ने सुझाव दिइन्।
कार्यक्रमका सभापतिसमेत रहेका परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले लोकतन्त्रका लागि लडेको अघिल्लो पुस्ताले अवकाश लिँदै नयाँ पुस्ताहरूलाई देशको नेतृत्वका लागि अघि बढ्न मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए।
त्यस्तै अहिलेको मुख्य निराशा युवाहरूको पलायन रहेको औंल्याउँदै त्यसलाई रोक्न सकेमा मात्र असली लोकतन्त्र मजबुत हुनेमा विश्वास व्यक्त गरे।
अघिल्लो पुस्ताले गरेको त्यागका आधारमा अहिले नेपालका युवा यानेकी आफ्नो पुस्ताले परिणाम खोजिरहेको बताए। साथै पार्टीको युवापंक्तिले अघिल्लो पुस्तालाई ससम्मान बिदाइ गरेर पछिका पुस्तालाई अघि बढाउनुपर्नेमा जोड दिए।