
झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।
भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही बवैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् ।
उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए ।
खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताए ।