काठमाडौं, २९ असोज– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आइतबार हुने भनिएको दोस्रो खेल सोमवारका लागि सरेको छ ।
हङकङको मौसम विभागले समुद्री आँधी आउने पूर्वानुमान गरेकाले आइतवारको खेल स्थगित गरिएको हङकङ क्रिकेटले जनाएको छ ।
हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।
त्यहाँको मौसम विभागले पछिल्लो २४ घण्टादेखि टाइफून–८ नामक आँधी आउने चेतावनी दिएको छ । आँधी आउने चेतावनीसहित त्यहाँको सरकारले आफ्ना नागरिकलाई घरबाहिर नआउन आग्रह गरेको छ ।
नेपाली टोली पनि अहिले होटलमै बसिरहेको जनाइएको छ । आइतवार स्थगित भएको खेल सोमवार हुने जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।