
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलवार दिउँसो काठमाडौं आइपुगेका थानी बुधवार दिउँसो स्वदेश फर्किएका हुन् ।
उनलाई राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
उनलाई बिदाइ गर्नका लागि सभामुख देवराज घिमिरे, उपप्रधान एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याल पनि विमानस्थल पुगेका थिए ।
कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान अर्पण गरेको थियो ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।
नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगस्टमा राजदूतावास स्थापना गरेको थियो ।