३० असार २०८३, मंगलबार
इलाम २ उपनिर्वाचन

एमालेको संगठित शक्तिको अगाडि कांग्रेस, पहिचानवादी र रास्वपा फिक्का

बैशाख १७, २०८१
काठमाडौं
एमालेको संगठित शक्तिको अगाडि कांग्रेस, पहिचानवादी र रास्वपा फिक्का

राष्ट्रिय राजनीतिका चर्चित अनुहार संविधान सभाका अध्यक्ष एवं एमालेका प्रभावशाली नेता सुवास नेम्वाङसँग २०७९ मा कडा टक्कर गरेका कांग्रेस उम्मेदवार यसपटक कमजोर देखिएका छन् ।

अघिल्लोपटक बलिया र प्रभावशाली नेम्वाङसँग ११४ मतको झिनो मतान्तरले पराजित भएका थिए कांग्रेस उम्मेदवार डम्बर खड्का ।

तर गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यही वैशाख १५ गते शनिवार उपनिर्वाचन भयो । निर्वाचनमा उनै नेम्वाङका छोरा सुहाङले उनै खड्कासँगै प्रतिस्पर्धा गर्दा फेरि कडा टक्कर हुने अनुमान थियो ।

२०७९ को चुनावमा सनसनी मच्चाएर २०८४ को चुनावमा बहुमत ल्याउने दाबीका साथ इलाममा सम्पूर्ण शक्ति खर्चिएको रास्वपाले आफ्नो मात्रै होइन एमालेको पनि भोट काट्ने कांग्रेसको अनुमान पनि फेल भएको छ ।

यतिमात्रै होइन पहिचानवादीले धेरै एमालेको भोट काट्ने र ऊसमेत प्रतिस्पर्धामा हुँदा चार पक्षीय भिडन्तमा आफूले बाजी मार्ने कांग्रेसको योजनाले पनि इलाममा काम गर्न सकेन । 

बरु बलिया नेताको विरासत छोरामा सार्न खोज्दा पनि युवा उम्मेदवार सुहाङलाई इलामले यसपटक पत्याएको छ । जारी मतगणनाको​ प्रारम्भिकदेखि आधा गणना नाघिसक्दाको रुझानमा पनि एमाले उम्मेदवार सुहाङ बलिया देखिएका छन् ।

बलियो सांगठनिक शक्तिसहित चुनावी मैदानमा उत्रिएको एमालेले फेरि इलाममा बाजी मार्ने पक्का देखिएको छ । माइ र इलाम नगरपालिकाको मतगणनाबाट कांग्रेसले अप्रत्याशित नतिजा ल्याउने मतगणनाको रुझानले देखाएको छैन । किनकि माई नगरपालिका प्रमुखमा एमालेले १ हजार ५५१ मतान्तरले जितेको थियो । 

इलाम नगरपालिकामा कांग्रेसका केदार थापा २ हजार ५२८ मतान्तरले विजयी भएका थिए । इलाम बजार क्षेत्र पनि भएकोले गणना गर्न बाँकी मत कांग्रेसलाई मात्रै जाने देखिएको छैन ।

रास्वपाले पनि बजारबाट केही भोट बढाउन सक्ने र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले पनि बजार क्षेत्रबाट केही भोट ल्याउँदा कांग्रेसले सुहाङसँगको ५ हजार बढी अन्तरलाई घटाउने गरी मत ल्याउन सक्ने देखिएको छैन ।​

माङसेबुङ ५ नम्बर वडामा पहिचानवादीका थेगिमसँग एक हजार मतान्तरले पछाडि पर्नुबाहेक जारी मतगणनामा एमालेका उम्मेदवारलाई कुनै पनि दलले अहिलेसम्म टक्कर दिन सकेका छैनन् ।

गणना भइसकेका २६ वडामा एमालेले सबैभन्दा बढी १८ वटामा पहिलो बढी मत पाएको स्थिति छ । यसले पनि सबै वडाको गणनामा एमाले सहजै जीतसम्म पुग्ने देखिएको हो । 

कांग्रेसको बलियो प्रभाव, रास्वपाले चुनाव जित्न सबै शीर्ष नेतालाई लामो समय इलाम खटाएर गरेको मेहनत र पूर्वको पनि इलाममा पहिचानवादीबाट उल्लेख्य मत काट्न सक्ने आकलनलाई गलत सावित गरिदिने बाटोमा एमाले अगाडि बढेको छ । 

आन्तरिक रुपमा हिसाब निकाल्दा पनि आफूले १५ देखि २५ सय मतान्तरले जित्ने हिसाब एमालेको थियो । आफूपछि रास्वपा दोस्रो, कांग्रेस तेस्रो र पहिचानवादी उम्मेदवार चौथो बन्ने आन्तरिक मूल्यांकन एमालेले निकालेको थियो । तर अहिलेसम्मको रुझानले एमालेको आफ्नोबारेको मूल्यांकन मिल्नेतर्फ देखिए पनि अरु पार्टीप्रतिको मूल्यांकन नमिल्ने देखिन्छ । 

अघिल्लोपटक एमालेका नेम्वाङ यही क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । अहिलेकै अनुपातमा मत आए अघिल्लो पटकको भन्दा आधा हाराहारी मत ल्याउने देखिएको छ ।

एमालेको पहिलो जति नै ३० हजार मत नआए पनि २५ हजार हाराहारी आउने देखिएको छ । एमालेले आफ्नो मत जोगाएर निर्वाचन जित्दा कांग्रेसको मत पनि आधा हुने देखिएको हो ।

रास्वपाका प्रकाश सापकोटाले १ हजार ३६३ मत प्राप्त गरेका थिए ।

यसपटक यसमा सुधार गरेर जारी मतगणनामा तीन हजार हाराहारी मत रास्वपाले ल्याएको छ । गणना गर्न बाँकीमा थप तीन हजारमाथि मत ल्याए मात्रै रास्वपाले इलाममा जमानत जोगाउने छ ।

रास्वपाका मिलन लिम्बू माङसेबुङ २ घर भएका उम्मेदवार हुन् ।

तर यो वडामा उनको घण्टी चुनाव चिन्हले जम्मा ९६ मत पाएको छ । जबकि यो वडाबाट एमालेले सबैभन्दा बढी ५८६, कांग्रेसले ३५१ र पहिचावादीका थेगिमले ३१७ मत पाएका थिए ।

३९ हजार ४२५ मत सदर हुँदा इलाम २ मा नेकपा एकीकृत समाजवादीले ३२२ मत मात्रै पाएको छ ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीले झलनाथ खनाललाई चुनावी कमान्डर बनाएर इलाममा खटाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्