
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आइतवार र सोमवार आयोजित तेस्रो लगानी सम्मेलन समापन भएको घोषणा गरेका छन् ।
समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिएका थिए । नेपाल सरकारले लगानीका लागि धेरै सहजीकरण गर्ने भन्दै उनले समापन सम्बोधनमा सबै लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
'यहाँहरूको सहभागिता र समर्थनका लागि धन्यवाद,' मन्त्री श्रेष्ठले भने, 'लगानीका लागि नेपालले सकेको सहजीकरण गर्छ, यहाँहरू सबैलाई म नेपालमा लगानी गर्न अनुरोध गर्न चाहन्छु ।'
त्यसअघि सम्बोधन गरेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लगानी भित्र्याउन लागि सबै राजनीतिक दलको एक मत रहेको बताएका थिए ।
'हामी तपाईंको यो उपस्थितिले उत्साहित छौं,' ओलीले भने, 'नेपालमा विदेशी लगानीबारे हामी सबै राजनीतिक दलहरूको एकमत छ ।'
उनले आफूले शुरू गरेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई यो सरकारले पनि प्राथमिकता दिएकोमा खुसी रहेको प्रतिक्रिया दिए ।
सम्मेलनमा भाग लिन ८ सय विदेशी लगानीकर्ता आएका थिए भने १ हजारभन्दा बढी नेपाली व्यवसायी र उद्योगी सहभागी भएका थिए ।
सम्मेलन समापन सत्रमा बोल्दै लगानी बोर्डका सीईओ सुशील भट्टले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको पुष्टि भएको बताए ।
काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न प्यानल छलफल, साइडलाइन मिटिङ र विभिन्न सम्झौता र समझदारी भएका छन् ।