
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालिन नेकपा (क्रान्तकारी माओवादी) बीचको एकता भङ्गको घोषणा भएको छ ।
सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भएको जानकारी गराएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेनलको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युष्निटहरु एकजुट हुन आवश्यक रहेको औंल्याउँदै वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गरेका छन् । पार्टीमा असहमति पत्र बुझाउनेहरुमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायत रहेका छन् ।
पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन बैद्यसँग् छलफल भएको भएपनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरु अलग हुने निश्कर्षमा पुगेको उनीहरुको भनाई छ ।
उनीहरुले अध्यक्ष बैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पङ्गु बनाईएको र गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईएको गम्भीर आरोप लगाएका छन् ।