
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताए । जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको उनको दाबी थियो ।
एमाले बर्दियाको १० औं अधिवेशनको मंगलवार उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो । संसद्मा नेपाली कांग्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम कांग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’
आफूले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै उनले अब एमालेले सरकारमा कुर्सीको भागबन्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
आउने चुनावपछि एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामर्थ्यमा पुग्नुपर्ने पोखरेलको भनाइ छ ।
उनले एमाले जनताको आशा र भरोसको केन्द्रविन्दु भएको दाबी गरे ।
पछिल्लो समयमा जातीय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताउँदै महासचिव पोखरेलले उनीहरूको राजनीति सकिएको बताए ।
‘जातीय नाममा रेशम चौधरीले गरेको राजनीति अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचानवादी र जातीय राजनीति रुचाउन छोडे’, उनले भने ।
उद्घाटनमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरीले जनताको रोजाइको पार्टी एमाले रहेको बताए ।
अधिवेशनको बन्दशत्र आज (मंगलवार) साँझ ८ बजेदेखि शुरू हुनेछ ।
३६४ जना प्रतिनिधि रहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।