
चिनियाँ तटरक्षक सेनाले मंगलवार फिलिपिन्सको जहाजलाई क्षति पुर्याउने गरी पानीका फोहोराहरू फ्याँकेको भन्दै फिलिपिन्सले आपत्ति जनाएको छ ।
फिलिपिन्सका अधिकारीहरूले चीनले पछिल्लो समय फिलिपिन्समाथि अतिक्रमण गर्न खोजेको ज्वलन्त उदाहरणका रूपमा यसलाई लिएका छन् ।
फिलिपिनी तटरक्षक सेनाका अधिकारीहरूले आफ्नो जहाजले चिनियाँ नियन्त्रित जमिन नजिकै 'वैध' गस्ती गरिरहेका बेला चीनले पानीको फोहोराले आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
फिलिपिन्स कोस्ट गार्डले खिचेको भिडियोमा दुई ठूला चिनियाँ जहाजहरूले फिलिपिनी जहाज विपरित पक्षबाट पानीको तोप प्रहार गरेको देखिएको सीएनएनले जनाएको छ ।
यसमा कुनै हताहती र चोटपटक भने भएको छैन ।
चिनियाँ पक्षले भने फिलिपिनी जहाजहरूले चिनियाँ जलक्षेत्रमा घुसपैठ गरेकाले ती जहाजहरू निकाल्नुपरेको भन्दै आफ्नो बचाउ गरेको छ ।
चिनियाँ सामाजिक सञ्जाल वेबोमा मंगलवार एक पोस्ट गर्दै चिनियाँ कोस्ट गार्डले चिनियाँ जलक्षेत्रमा फिलिपिनी सेनाले घुसपैठ गरेकाले बाहिर निकाल्न कारवाही गरेको जनाएको हो ।
बेइजिङले दक्षिण चीन सागरको लगभग सम्पूर्ण भूभागमा स्वामित्व दाबी गर्दै आएको छ ।
विगत दुई दशकमा चीनले दक्षिण चीन सागरमा आफ्नो तटीय रेखाबाट टाढासम्म जल र स्थल क्षेत्र ओगटेर सैनिक गतिविधि गर्दै आइरहेको आरोप फिलिपिनी पक्षले लगाएको छ ।