
लामो समयको अन्तरालपछि विकेटकिपर ब्याटर ऋषभ पन्त भारतको राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन् । भारतको क्रिकेट बोर्ड बीसीसीआईले मंगलबार घोषणा गरेको टी–२० विश्वकप टोलीमा २६ वर्षीय पन्तको नाम पनि समावेश छ ।
पन्त १६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका थिए । गम्भीर घाइते भएका उनी फेरि क्रिकेटमा फर्किनेमा शंका थियो । तर पन्त मैदानमा फर्किएनन् मात्र, इन्डियन प्रिमियर लिग (आईपीएल)मा उच्चस्तरको प्रदर्शन पनि गरिरहेका छन् । उनी दिल्ली क्यापिटल्सका कप्तान हुन् ।
सन् २०२२ को डिसेम्बरमा दिल्लीनजिकै ठूलो दुर्घटनामा भएको थियो । त्यसबाट संयोगवश बाँचेपछि पन्तले ‘चमत्कारभन्दा कम नभएको’ प्रतिक्रिया दिएका थिए ।
भारतीय टोलीका कप्तानी नियमित कप्तान रोहित शर्माले नै गर्नेछन् । हार्दिक पाण्ड्या उपकप्तान रहेका छन् । शुभमन गिलसहित ४ खेलाडीलाई वैकल्पिकमा राखिएको छ ।
आगामी जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकप नेपाल पनि सहभागी छ ।
यस्तो छ भारतीय टोलीः
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज ।
