
कपिलवस्तुको वाणगंगामा एक दम्पती मृत फेला परेका छन् ।
वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलका ६० वर्षीया टेकलाल भुसाल र उनकी श्रीमती ५५ वर्षकी जुठी भुसाल बुधवार घरभित्रै मृत अवस्था फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले भुसाल दम्पती घरभित्रै मृत अवस्थामा फेला परेको जानकारी दिए ।
‘श्रीमान् सुसाइड गरेको अवस्थामा थिए’, एसपी पौडेलले भने, ‘श्रीमतीको शरीरमा गम्भीर चोटपटकसहित मृत अवस्थामा थिइन ।’ बिहान अबेरसम्म पनि ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनीहरूका दुई छोराहरू काठमाडौंमा अध्ययनरत छन् । घरमा श्रीमान् श्रीमती मात्र बस्ने गरेका प्रहरीले जनाएको छ ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाइएको छ ।
‘घटनास्थल हेर्दा श्रीमान्–श्रीमतीबीच झगडा भएर श्रीमतीको हत्या गरी श्रीमान्ले पनि आफैं आत्महत्या गरेको जस्तो देखिन्छ । विस्तृत कुरा अनुसन्धानपछि मात्रै बाहिर आउला’, एसपी पौडेलले लोकान्तरसँग भने ।