
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिइने बताएका छन् ।
एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आन्तरिक रुपमा सीपमूलक तालिम उपलब्ध गराउने योजना रहेको उनको भनाइ थियो ।
'आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धिका लागि काम गरिरहेका छौं । आन्तरिक रुपमा सीपमूलक तालिमहरू दिनुपर्छ भन्नेमा योजना बनाइरहेका छौं', मन्त्री अर्यालले भने, 'अबको दशक भनेको आन्तरिक रोजगारीको दशक बनाउने हो । यो दशकमा सीपमा लगानी बढाउने प्रतिबद्धतासहित हामीले काम गरिरहेका छौं ।'
उनले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोष, तीनवटै संस्थाबीचको सम्बन्ध सुमधुर बनाउँदै प्रभावकारी सेवा प्रवाहका लागि छलफल भइरहेको जानकारी दिए ।
मन्त्री अर्यालले शिक्षा नीति र श्रम बजारको मागबीच तालमेल नमिलेकाले सीप र प्रविधियुक्त जनशक्ति बनाउनुपर्ने आवश्यकता औंल्याए । श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध निर्माणका लागि काम गरिरहेको उनको भनाइ थियो । उनले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालय प्रयासरत रहेको बताए ।
अन्तर्राष्ट्रियस्तरबाट नेपाली श्रमिकप्रति हेर्ने नजर सकारात्मक रहेकामा उनले प्रशंसा गरे ।
'श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सोचेजस्तो हुन सकेको छैन । न्यूनतम पारिश्रमिक दिने र बढी समय काममा खटाउने जस्ता विषयमा हामीले निजी क्षेत्रका व्यवसायी र रोजगारदातासँग निरन्तर छलफल गरिरहेका छौं', श्रममन्त्री अर्यालले भने ।